गौतम बुद्धको विलक्षण प्रतिभा र अलौकिक क्षमता

बसन्त महर्जन
गौतम बुद्धले ३५ वर्षको उमेरमा वैशाख पूर्णिमाका दिन बोधगयामा बुद्धत्व प्राप्त गरेको र पञ्चभद्दीय भिक्षुलाई धर्मदेशना गर्नका लागि ऋषिपतनमृगदावनतर्फ लागेको घटना त प्रसिद्ध नै छ । यही बेला बाटोमा हिड्दै गर्दा उपक नामका एक आजीवक साधुले बाटोमा भेटे थिए । गौतम बुद्धको व्यक्तित्व देखेर उपक अचम्म भएका थिए र के कसो हो भनेर प्रश्न पनि गरे । बुद्धले दिएको जवाफ उनले बुझ्नै सकेनन् र मथिंगल खलबल्याएर बाटो लागेका थिए ।

घरमा जवान छोरीका लागि सुहाउँदो वर खोज्दै हिडेका ब्राह्मण मागन्दीयले कुरुको ठुलो वस्ती कम्मासदम्मको छेवैमा रहेको भारद्वाज ब्राह्मणको आश्रममा गौतम बुद्धलाई देख्छन् र ज्वाइँ बनाउन उत्साहित हुन्छन् । दौडी दौडी घरमा पुगेर आफ्नी ब्राह्मणी र छोरी मागन्धीलाई लिएर पुनः आश्रममा पुग्छन् । तर, त्यति बेलासम्म बुद्ध अन्यत्र नै लागिसकेका थिए । बुद्ध पुरुषहरुका पदचिन्ह भुइँमा अंकित हुन्छन् । यसतो पदचिन्ह शरीर लक्षण शास्त्र जानेकाले मात्रै देख्न सक्छन् । ब्राह्मणीमा त्यो शास्त्र ज्ञान थियो र पदचिन्हको हेरेर मनन गरेपछि थाहा भयो, यस्तो पदचिन्ह भएकाहरु सांसारिक हुन्न । साँच्चै बुद्धलाई ज्वाइँ बनाउन सकेनन् बरु दुबै ब्राह्मण र ब्राह्मणी बुद्धका अनुयायी बने । विवाहका लागि अस्वीकार गरेको भनी ती सुन्दरी युवतीले बुद्धप्रति अपार द्वेष राख्न पुगिन्, त्यो बेग्लै प्रसङ्ग हो ।

बसन्त महर्जन

द्रोण नामका एक ब्राह्मण थिए । बुद्धलाई देखेर आश्चर्यमा परे । आफ्नो अगाडि सदृश्य मानव शरीर देखेपनि बुद्धसँग प्रश्न गर्नमा अन्यौल भएर अतीत वा वर्तमान वाक्यले नभई अनागत वाक्यले सोधे– ‘तपाई देवता हुने हुनुहुन्छ कि ?’ अर्थात् आफ्नो अगाडि रहेका गौतम बुद्ध मानव होइनन्, अरु नै कोही हुन् भन्ने कुराको आभास उनलाई भइसकेको थियो । उनको प्रश्नको तात्पर्य थियो– देवता, गन्धर्भ, यक्ष वा अरु नै कोही हुनुहुने ? बुद्धबाट नकारात्मक जवाफ प्राप्त भयो । उसो भए मनुष्य हो त भन्ने प्रश्नमा पनि पूर्ववत् नकारात्मक जवाफ नै प्राप्त भयो । त्यसपछि द्रोणको प्रश्न थियो, उसो भए के हो त ? त्यति बेला आफूलाई बुद्ध भनेर जान्नु भनेर जवाफ दिएका थिए । यसबाट स्पष्ट हुन्छ, गौतम बुद्धलाई महामानव भनेर प्रसंसा गर्नुको पनि कुनै तुक छैन, किनभने बुद्ध भनेका मानव होइनन् । मानव योनिमा जन्मेका जरुर हुन्, पुरुष लिङ्ग पाएका पनि हुन् । अन्य सरह हुर्केका पनि हुन् । तर बुद्धत्व प्राप्तीसँग ती जम्मै भावको पनि अन्त्य भएर बुद्धको प्रादुर्भाव भएको बुझ्नु पर्दछ । ती जम्मै भावहरु कायम नै रहेको मान्यता राख्नुको तात्पर्य बोधिसत्व सिद्धार्थले बुद्धत्व प्राप्त गरेको कुरामा अविश्वास गर्नुका साथै बुद्ध र बौद्ध धर्मदर्शनलाई अंगीकार गरिनसक्नु हो ।

भौतिकवादीका दृष्टिमा गौतम बुद्ध अरुजस्तै हाड, छाला र मासु भएका एक सामान्य मानिस हुन् । जो अस्सी वर्षसम्म बाँचेर मृत्यु भए । अन्यभन्दा असामान्य क्षमता थियो र दर्शनका नयाँ कुरा गरे भन्ने बुझाइ उनीहरुको पाइन्छ । यसरी नै उनीहरुको बुझाइअनुसार उक्त हाड, छाला र मासुको थुप्रोको नाम बुद्ध हो । उनीहरुकै बुझाइमा बुद्ध नामको एक मानिसलाई उनका अनुयायीहरुले प्रसंसा गर्ने क्रममा देवता नै बनायो, भगवान भन्यो, दर्शनलाई धर्म बनायोे । उनीहरुको दृष्टिकोणमा जीवन प्रवाह भन्नु आमाको कोखबाट जन्मेर निश्चित उमेर बाँचेर मृत्यु हुनुसम्म मात्रै हो । तर बुद्धले जीवन प्रवाहलाइ यही एउटा जीवनका रुपमा मात्रै नबुझ्न सुझाएका छन् । सुमेध नामका एक तापसी थिए, भविष्यमा म पनि बुद्ध हुनसकुँ भनी दीपङ्कर बुद्धसमक्ष याचना गरेका थिए । दीपङ्कर बुद्धले पनि तिमी बुद्ध हुन्छौ भनी भविष्यव्याकरण गरेका थिए । त्यस उप्रान्त उनी बोधिसत्व भए । बोधिसत्वको जीवन भन्नु वास्तवमा अनेकौं पारमी तथा उपपारमीहरु पूरा गर्नु हो जसले एक खालको क्षमतावृद्धि गर्दछ । यी कार्यहरु एक दुई होइन, लाखौं जन्महरुको श्रृङ्खलामा सम्पादन हुँदै आउने हो । ती सुमेध तापसीले सम्पूर्ण पारमि तथा उपपारमिहरु पूरा गरेर अन्ततः सम्यकसम्बुद्ध बने, गौतम बुद्धका नामबाट चिनिए । यस बीचमा दीपङ्कर बुद्धदेखि २४ बुद्धहरुको दर्शन गरे । असंख्य सत्वहरुप्रति अपार करुणा राखी महाकारुणिक बनेका बुद्धहरु साधारण मानिससँग तुलना कसरी गर्नु ? कोही व्यक्ति आफू भौतिकवादी बनेको भन्दैमा गौतम बुद्धलाई पनि आफूसरहकै एक भौतिकबादी ठान्नु हदैसम्मको उट्पट्याङ कुरा हो ।

बौद्ध धर्म–दर्शनमा ऋद्धि तथा यमक प्रतिहार्यका कुराहरु बरोबर उल्लेख हुने गर्दछ । त्यसमा पछि जोडिएको तन्त्र र मन्त्रलाई अन्यथा लिनु वा आपत्ती देखाउनुको आवश्यकता छैन । बौद्ध साधनाका क्रममा ऋद्धि तथा यमक प्रतिहार्यको क्षमता स्वतः प्राप्त हुने कुरा हो । कोही यही क्षमतामा आनन्दित भएर अगाडिको यात्रा तय गर्न सक्दैनन् भने कोही यसैलाई पनि साधन बनाउनुका साथै थप साधना गरेर अर्हत्व तथा बुद्धत्वको पदसम्म पुग्दछन् । तन्त्र र मन्त्र पनि त्यस्तै साधन मात्रै हुन्, साध्य होइन ।

गौतम बुद्धले ऋद्धि तथा यकमप्रतिहार्यहरु थोरै मात्र प्रदर्शन गरेका छन् । अझ भनुँ भने यसलाई उपायकौशल्यका रुपमा मात्रै प्रयोग गरेको पाइन्छ । उनले सातौं वर्षावास त्रायंतीश देवलोकमा गरेका थिए । आफूलाई जन्म दिने आमा मायादेवी त्यति बेला देवपुत्रका रुपमा त्यस लोकमा थिए । ती देवपुत्रलाई लक्षित गरी उपदेश गर्न त्रायंतीशमा गएको घटनालाई ठुलै यमकप्रतिहार्य प्रदर्शनका रुपमा लिइन्छ । त्यस बेलाको समाजमा ऋद्धि तथा यमकप्रतिहार्यको प्रदर्शनलाई रमाइलो तथा आडम्बरका रुपमा लिने चलन पाइन्थ्यो । कसैले चुनौती दिएकोमा एक भिक्षुले हावामा उडी बाँसको टुप्पोमा झुण्ड्याइएको पिण्डपात्र लिई त्यसमा रहेको भोजन ग्रहण गरेको घटनालाई बुद्धले आपत्तीजनक भन्दै यस्तो क्षमता प्रदर्शनमाथि प्रतिवन्ध लगाएका थिए । तर राम्रो र असल कामका लागि त्यस्तो पावन्दी थिएन । ऋद्धिबलमा भिक्षु मौद्गल्यायण अग्रणी थिए । त्यति बेलाका प्रायः अर्हत्हरुमा यस्तो क्षमता भएको पाइन्छ । कसैको घमण्ड वा भ्रम तोड्नका लागि पनि यस्तो प्रदर्शनी हुन्थ्यो । बुद्ध र उनका अनुयायी भिक्षु तथा भिक्षुणीहरुसँग ऋद्धि तथा यमकप्रतिहार्य शक्ति नभएको भनी अन्य सम्प्रदायले अफवाह फैलाएको अवस्थामा एक भिक्षुणीले सो प्रदर्शनका लागि अनुमति मागेकी थिइन् । तर स्वयं बुद्ध नै अघि सरी एउटा आँप खाई आँपको कोया भुइँमा रोपी एकै दिनभित्र टुसा पलाई, रुख उमारी, ठूलो र परिपक्व बनाई त्यसमा आँपसमेत फलाई, खान लायक बनाई सबैलाई खान दिएको घटना पनि उल्लेखनीय छ । यो घटना असार पूर्णिमाका दिन भएको थियो र बुद्धका आठ ठुला घटनाहरुमध्ये एक घटनाका रुपमा गणना गरिन्छ ।

बुद्ध र बौद्ध भिक्षुहरु ठाउँ न कुठाउँ ऋद्धि तथा यमक प्रतिहार्यहरु प्रदर्शन गरेर बस्दैनन् भन्ने कुराका अनेकौं उदाहरण छन् । प्रथम धर्मचक्र प्रवत्र्तन गर्न बुद्धलाई बोधगयादेखि ऋषिपतनमृगदावनसम्म किन हिडेर जानु प¥यो ? उनी आकासमार्गबाट उडेर पनि जानसक्थे तर हिडेरै गए । बाटोमा गंगा नदी तर्नु पर्छ । खल्तीमा पैसा नहुँदा डुंगा चढ्न नपाएको घटनाले पुष्टि गर्दछ, सानोतिनो कुराका लागि ऋद्धिवलको प्रदर्शन गरिँदैनन् । तर धर्मउपदेश सुनाएर मान्छेलाई बोध गराउन ऋद्धिबलको प्रदर्शन गरिन्थ्यो । छोरा खोज्दै आएका काशीका सेठलाई उपदेश दिँदा ऋद्धिबलले छोरा यशकुमारलाई छोपेका थिए । बाबुलाई दिइरहेको उपदेश यशकुमारले पनि सुन्दै गरेका थिए र बाबुछोरा दुबैलाई धर्मबोध भएको थियो । अद्वितीय रुपका कारण बुद्धको समक्ष नजाने भिक्षुणी नन्दा र मगधका रानीलाई ऋद्धिशक्तिकै बलमा उनीहरुभन्दा पनि अत्यन्तै राम्री महिला देखाएर विस्तारै उमेर चढाएर बुढी बनाउनुका साथै कुप्रो र हरन्त बनाउनुका साथै मृत्युसम्मको दृष्य देखाएका थिए । यस घटनाबाट ती दुई सुन्दरीको भ्रम निवारण गरेका थिए ।

गौतम बुद्धलाई सर्वज्ञ पनि भनिन्छ । एकै ठाउँमा बसी बसी कोसौ परको घटना हेर्न सक्थे । ऋद्धिशक्तिले तुरुन्तै त्यहाँ पुग्न पनि सक्थे । यसरी नै अघिल्लो जन्मको मात्रै नभएर अनेकौं पूर्वजन्महरुको स्मरण गर्न सक्थे । अनेकौं पूर्वजन्महरुको स्मरणको विवरण नै जातक कथा तथा अवदानहरु हुन् । विहारमा भिक्षु भिक्षुणी तथा उपासक उपासिकाहरुलाई मात्रै होइन, सोही बेला अदृष्य देव तथा अन्य सत्वहरुलाई उपदेश दिनसक्थे ।

गौतम बुद्ध विलक्षण प्रतिभाले सम्पन्न व्यक्तित्व हुन् । लौकिक तथा अलौकित यी कुराहरु कतिपयलाई नपच्नु स्वाभाविक पनि हो । आफूलाई जे जति थाहा छ वा जे जति आफूले गर्न जानेको छ त्यति मात्रै वैज्ञानिक र अरु सबै अवैज्ञानिक मान्नु आफैमा अवैज्ञानिक सोच र अविद्या हो । ज्ञानको सीमा हुन्न । बौद्ध धर्मको प्रमुख विशेषता भन्नु चित्त (मन) को विश्लेषण वा अध्ययन हो । आधुनिक विज्ञान (साइन्स)ले जति विकास गरिसकेको भनेपनि स्वयं वैज्ञानिकहरु भने बौद्ध धर्मदर्शन तथा चित्तको विश्लेषणको शूक्ष्मताप्रति नतमस्तक छन् । हिजोआज नै पनि बौद्ध धर्मदर्शनलाई साइन्सको ल्याबोरेटरीमा राखेर अध्ययन गर्दैछन्, प्राप्त नतिजाले नतमस्तक छन् । यस अवस्थामा विज्ञानवादी (प्रो साइन्स) बनेर बुद्धका कुराहरु अस्वीकार गर्नुभन्दा वैज्ञानिक भएर खोजबिन गर्नु उत्तम हो । वास्तवमा बौद्ध धर्मदर्शनलाई बुझ्न प्रयास गर्नु र साधक हुनु आफैमा स्वयं वैज्ञानिक हुनु हो ।

Share

Related posts