लुम्बिनी बौद्ध विश्वविद्यालय पूर्ण सरकारी स्वामित्वमा

लुम्बिनी बौद्ध विश्वविद्यालय बहुविषय अध्यापन गराउन पाउने गरी पूर्णसरकारी स्वामित्वमा आएको छ । विश्वविद्यालय ऐन २०६३ संसोधन भएपछि सरकारी स्वामित्वमा आएको हो। यसअघि ऐनको प्रास्तावनामा ‘जनस्तर’बाट सञ्चालन गर्ने भन्ने उल्लेख थियो । सो प्रस्तावनालाई संशोधन गर्दै जनस्तर भन्ने शब्द झिकिएको हो । नेपालमा रहेका त्रिभुवन विश्वविद्यालय, संस्कृत, कृषि, सुदूरपश्चिम, मध्यपश्चिम विश्वविद्यालयपछि लुम्बिनी बौद्ध विश्वविद्यालय सरकारी स्वामित्वमा पुगेको छ ।

जनस्तरबाट सञ्चालन गर्ने ऐन हुँदा विश्वविद्यालयलाई शैक्षिक कार्यक्रम विस्तारमा जटिलता थपिएको थियो । ऐन संशोधनपछि विश्वविद्यालय विस्तारमा सहज हुने बताइएको छ । अब विश्वविद्यालयले अनुदान नभई अर्थमन्त्रालयबाट माग अनुरुपको बजेट पाउनेछ ।

विश्वविद्यालय बहुविषयमा समेत गएको छ । यसलाई बुहविषयमा लैजाने र नलैजाने विषयमा विवाद रहँदै आएको थियो । अन्ततः प्रतिनिधिसभा र राष्ट्रिय सभाले बहुविषय पढाउन पाउने गरी ऐन संशोधन गरेका छन् । संसोधन ऐन असार ११ गते राष्ट्रपतिबाट प्रमाणिकरण भएको छ ।

विश्वविद्यालय ऐनको प्रस्तावनामा यसअघि बौद्ध दर्शन, साहित्य, शिक्षा र सँस्कृतिमात्रै पठनपाठन गर्ने उल्लेख थियो । संशोधनपछि ऐनको प्रास्तावनामा बौद्ध दर्शन, साहित्य, शिक्षा र संस्कृतिसहित अन्य विषय उल्लेख गरिएको छ ।

रजिष्ट्रार डा. तिलक आचार्यले ऐनले बहुविषयमा अनुमति दिएपनि विश्वविद्यालयको मुख्य प्राथमिकता बौद्ध दर्शनमै रहने बताए । ‘अन्य विषय सञ्चालन भए पनि बौद्ध दर्शनमै आधारित भएर हुनेछन्’ आचार्यले भने–‘बौद्ध विश्वविद्यालय बौद्ध दर्शन, साहित्य र संस्कृतिबाट बिचलित हुनेछैन ।’

विश्वविद्यालयको केन्द्रीय क्याम्पस लुम्बिनीमा बौद्ध दर्शन, साहित्यका विभिन्न संकायहरु अध्यापन हुँदै आएको छ । बुटवलमा ट्राभल एण्ड टुरिजम र कानून विषय पठनपाठन गराइरहेको विश्वविद्यालयले काठमाडौंका ७ क्याम्पसलाई इन्जिनियरिङसहितका विषय पढाउन सम्बन्धन दिएको छ ।

विश्वविद्यालयले बौद्ध दर्शनसँग जोडिएर प्राविधिक र बहुउपयोगी विषयको पठनपाठन गर्ने योजना बनाएको छ । ऐन संशोधनपछि विश्वविद्यालयको सभामा प्रदेश सरकारका प्रतिनिधिको समेत सहभागिता हुनेछ । प्रदेश ५ का प्रमुख सचिवसहित हरेक प्रदेशबाट एक÷एक जना व्यक्ति सभामा सदस्य रहने भएका छन् ।

ऐन संशोधनपछि छात्रृत्ति दिने वाटो समेत खुलेको छ । अन्य सरकारी विश्वविद्यालयमा जस्तै बौद्ध विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने रजिष्ट्रार आचार्यले जानकारी दिए ।

पाँच वर्षअघिसम्म काठमाडौंकै एउटा कोठामा सीमित रहेको बौद्ध विश्वविद्यालयका पदाधिकारी अहिले लुम्बिनीमै बस्दै आएका छन् । लुम्बिनीमा छात्राबास, अनुसन्धान केन्द्र, पदाधिकारी आवास, शिक्षक आवासगृहसहितका आधा दर्जन संरचना तयार भएका छन् । पछिल्लो तीन वर्षयता बौद्ध विश्वविद्यालय देखिने स्थितिमा आएको हो ।

विश्वविद्यालयलाई कपिलवस्तुको तिलौराकोट र रुपन्देहीको देवदहमा विस्तार गर्ने योजना बनाइएको छ । रजिष्ट्रार आचार्यले देवदहमा एक सय विगाहा जमिन प्राप्तिको प्रक्रिया अन्तिम चरणमा रहेको बताए । जग्गा प्राप्तिसँगै पूर्वाधार निर्माण गरी शैक्षिक कार्यक्रम विस्तार गरिने उनले जानकारी दिए ।

बौद्ध विश्वविद्यालय नेपाललाई विश्वमा चिनाउन सक्ने शैक्षिक संस्था रहेकाले सरकारले विशेष ध्यान दिएको रजिष्टार आचार्यले बताए । विश्वविद्यालयको लुम्बिनी स्थित केन्द्रीय क्याम्पसमा विदेशी विद्यार्थीलाई अध्यापन गराउने योजना रहेको उनको भनाइ छ ।

थेरबाद, महायान, हिमाली बुद्धिज्म, पुरातत्व, संग्रालयसँग सम्बन्धित विषयसहित चिनियाँ, तिब्बती, पाली, संस्कृत भाषाको कक्षा समेत केन्द्रीय क्याम्पसमा हुँदै आएको छ । विद्यावारीधीबाट शुरु भएको पठनपाठन अहिले प्रमाणपत्रतहसम्म रहेको छ । अन्नपुर्ण पोष्टबाट

Share

Related posts