बुद्ध समाधिमा किन बस्नुहुन्छ ?

भन्ते नागसेन ! तपाईंहरु भन्नुहुन्छ कि भगवानले जे कुराहरू गर्नु थियोे सबै बोधीवृक्षको मुनि नै समाप्त भइसकेको छ । वहाँले अब अरु केही गर्नु बाकी छैन, आफुले गरेकोमा अरु केही जोडन थप्न बाकी छैन । साथ साथै यस्तो पनि सुन्नमा आउँछ कि तीन महीनासम्म वहाँले समाधी लगाउनु भएको थियोे ?

भन्ते नागसेन ! यदी भगवानले बोधी वृक्षको मुनि सबै कुराहरू समाप्त गरिसकेको भए तब यो कुरा झुठो ठहरिन्छ कि तीन महीनासम्म वहाँले समाधी लिनु भएको थियोे । यदी भगवानले यथार्थमा तीन महीनासम्म समाधी लिएको भए तब यो कुरा झुठो ठहरिन्छ कि बोधी वृक्षको मुनि वहाँले सबै गर्नुपर्ने समाप्त गरिसक्नु भएको थियोे । यदी आफुले गर्नुपर्ने सबै कुराहरू सकेको भए समाधी बस्नु किन जरुरत पर्यो ? जसको केही कर्म बाकी छ भने उसैलाई त समाधी बस्नुको जरुरत पर्छ ? भन्ते ! जो रोगी छ उसैलाई दबाइको जरुरत पर्छ, जो निरोगी छ उसलाई दबाइको के प्रयोजन ? भोकाएकोलाई नै भोजनको जरुरत पर्छ ! जसको पेट भरिएको छ उसले भोजन बोकेर के गर्छ ? भन्ते ! त्यस्तै प्रकारले, जसले आफ्नो सबै काम गर्नुपर्ने गरिसके उसलाई समाधी लगाउनु के जरुरत पर्नेछ ? जसको केही कर्महरु बाकी रहेको छ उसैलाई समाधी लगाउन जरुरत पर्न सक्छ । यसको तपाईंले उचित जवाफ दिएर सम्झाउनुहोस् ।

महाराज ! यी दुई कुराहरु ठिक हो कि बोधिवृक्षको मुनि भगवानले आफ्नो गर्नुपर्ने सबै कुराहरू समाप्त गर्नुभएको थियोे र यो पनि कि तीन महिनासम्म वहाँले समाधी लगाउनु भएको थियोे । महाराज ! समाधीमा धेरै गुणहरु हुन्छ । सबै भगवानले समाधीबाटै बुद्धत्व प्राप्त गर्नुभएको हो । बुद्धत्व प्राप्त गरेपछि पनि त्यसको राम्रो गुणलाई याद गर्दै त्यसलाई प्रयोग गर्दछन ।

महाराज ! कुनै ब्यक्तीले राजाको सेवा गर्दछ । त्यस सेवाबाट प्रसन्न भएर राजाले उसलाई कुनै ठुलो इनाम दिन्छन् । त्यस इनामलाई याद गरेर त्यो ब्यक्ती राजाको सेवा अरु धेरै गर्दछ, वा कुनै रोगी ब्यक्ती वैद्य भएको ठाउँमा जान्छ र आफ्नो राम्रो उपचार गराउनका लागी उसलाई धेरै इनाम बक्सिस दिन्छन् । उपचार पछि निको भएर वैद्यले गरेको उपकारलाई सम्झी फेरि पनि वैद्यको सेवा गरून् । महाराज ! यस्तै प्रकारले सबै भगवानले समाधी लगाएर नै बुद्धत्व प्राप्त गर्नुभएको छ । सो वहाँहरु त्यसका गुणलाई याद गरेर उसको सेवा बुद्धत्व प्राप्ति पछि पनि गर्नुहुन्छ ।

महाराज ! समाधीका अट्ठाइस गुण छ । जसलाई देखेर सबै भगवान त्यसको सेवन गर्नुहुन्छ । ती अट्ठाइस गुण कुन कुन हुन् ?

तिनीहरु यस प्रकार छस्:
(१) आफ्नो रक्षा हुन्छ ।
(२) दिर्घ जीवन हुन्छ ।
(३) बल बढछ ।
(४) सबै अबगुण नास हुन्छ ।
(५) सबै अपयस टाढा हुन्छ ।
(६) यशको वृद्धि हुन्छ ।
(७) असन्तोष हटछ ।
(८) पूरा सन्तोष मात्र रहन्छ ।
(९) भय हटेर जान्छ ।
(१०) निर्भीकता आउँछ ।
(११) आलस्य हराएर जान्छ ।
(१२) उत्साह बढछ ।
(१३(१५) राग, द्धेष र मोह नष्ट हुन्छ ।
(१६) झुठो अभिमान हराएर जान्छ ।
(१७) सम्पुर्ण सन्देह हटेर जान्छ ।
(१८) चित्त एकाग्रता हुन्छ ।
(१९) मन धेरै सुन्दर हुन्छ ।
(२०) मन सधैं प्रसन्न हुन्छ ।
(२१) गम्भीर हुन्छ ।
(२२) धेरै लाभ हुन्छ ।
(२३) नम्रता आउँछ ।
(२४) प्रीति उत्पन्न हुन्छ ।
(२५) प्रमोद हुन्छ ।
(२६) सबै संस्कारको क्षणिकताको दर्शन हुन्छ ।
(२७) पुनर्जन्मबाट छुटकारा मिल्छ ।
(२८) श्रमण भावको यथार्थ फल प्राप्त हुन्छ ।

महाराज ! समाधीका यहीँ २८ गुणलाई देखेर सबै भगवानले त्यसको सेवा गर्नुहुन्छ । महाराज ! आफ्नो इच्छालाई नष्ट गरेर सबै भगवान एकाग्रचित्त हुनुमा जुन प्रीति हुन्छ त्यसैमा लिन हुनका लागी समाधी लगाउँछन् ।

महाराज ! चार कारणले गर्दा भगवान समाधी लगाउनु हुन्छ । कुन-कुन चार कारण ?
(१) निरापद बिहार ।
(२) सबै श्रेष्ठ गुण हुनु ।
(३) उच्च ध्येयका एकमात्र मार्ग र
(४) सबै बुद्धद्वारा यसको धेरै भन्दा धेरै प्रशंसा गरिनु ।

यहीँ कारणले भगवान यसलाई सेवन गर्नुहुन्छ ।
महाराज ! यस कारणले होईन कि बुद्धलाई केही गर्न बाकी रहेको छ । समाधीको गुणलाई देखेर वहाँ यसको अभ्यास गर्नुहुन्छ ।

भन्ते नागसेन ! तपाईंले ठीक भन्नुभयो, मलाई स्वीकार छ ।

पुस्तकः मिलिंद प्रश्न
लेखकः भिक्षु जगदीश काश्यप
अनुबादः सुर्य तामाङ

Share

Related posts