बौद्ध शिक्षाको प्रवर्धनमा अन्तराष्ट्रिय बुद्ध परियत्ती उदय विहार

गौतम बुद्धको महापरिनिर्वाण पछि बौद्धमार्गीका लागी चार स्थान विशेष रहेका छन् । बुद्धले पहिलो आँखा उघारेको स्थान लुम्बिनी, बुद्धत्व पाएको बोधगया, बुद्धत्व प्राप्ति पछि पहिलोपटक प्रवचन दिएको सारनाथ र महापरिनिर्वाण गरेको कुशीनगर । यी चार स्थानमध्ये पनि बुद्धको जन्मस्थल भएको कारण लुम्बिनी अझ बढी महत्वपुर्ण रहेको छ बौद्धमार्गी माझ ।

बुद्धको जन्मस्थल लुम्बिनीको पवित्र क्षेत्रमा रहेको एउटा विहार हो अन्तराष्ट्रिय बुद्ध परियत्ती उदय विहार । रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिको वडा नंबर ४ स्थित डिंगरनगरमा यो विहार रहेको छ । विहारको स्थापना जटिल भन्तेले विक्रम सम्बत २०५८ सालमा गरेका हुन् । जटिल भन्तेले साना साना झुपडीबाट यो विहारको निर्माण गरेका थिए ।

झुपडीबाट सुरु भएको यो विहार निकै लामो संघर्षपछि अहिलेको यो स्थितिमा आइपुगेको हो । जटिल भन्तेले दाताहरुको सहयोग र भिक्षाटानबाट संकलन गरेको रकमले अलि–अलि गर्दै विहारका लागि जमिन जोडेका थिए । विहारमा समय–समयमा निर्माण र विस्तारको काम भइरहेको छ ।

बौद्ध शिक्षा र दर्शनको ज्ञान बाँढ्ने उद्देश्यले स्थापित यो विहारमा स्थापनाकालमा २० जना विद्यार्थीले बौद्ध शिक्षाको अध्ययन गर्थे । कुनै समय विहारमा अध्ययन गर्नेको संख्या ४० भन्दा बढि समेत पुगेको थियो । २०६१ सालमा नेपाल सरकारमा समेत दर्ता भएको यो विहारमा हरेक वर्षको शैक्षिक सत्र अन्तर्गत चैतमा नयाँ विद्यार्थी भर्ना लिने गरिएको छ । विहारमा आउने विद्यार्थीले बुद्ध दर्शन र परियत्ती शिक्षाको अध्ययन गर्ने गर्छन् । यहाँ बुद्ध शिक्षा लिइरहेका विद्यार्थीलाई औपचारिक शिक्षा दिने व्यवस्था पनि विहारले मिलाएको विहारका कार्यवाहक प्रमुख भिक्षु ज्ञानेन्द्रले बताए ।

पछिल्लो समय सरकारले परियत्ती शिक्षालाई धार्मिक प्रकृतिको शिक्षा भनेर औपचारिक मान्यता दिएको छ । अखिल नेपाल भिक्षु महासंघद्वारा सञ्चालित बौद्ध परियत्ती शिक्षालाई यो विहारले पनि कक्षा एक देखि दशसम्म सञ्चालनमा ल्याएको छ । अहिले यो विहारमा १४ जना श्रामणेर र ५ अनागरिकाले आवासीय रुपमा परियत्ती शिक्षा लिइरहेका छन् । त्यस्तै ४ जना भिक्षुहरु पनि विहारमै रहेर बौद्ध शिक्षा र दर्शन फैलाइरहेका छन् । आवासीय सुविधा लिएका बाहेक अन्य १०० जना जति उपासक उपासिकाहरुले पनि परियत्ती शिक्षाको अध्ययन गरिरहेका छन् । यसबाहेक विहारले नेपाल बाहिर बौद्ध शिक्षा लिन चाहनेहरुलाई समन्वय समेत गरिरहेको छ ।

विहारले दाताहरुको सहयोग र भिक्षाटानबाट यहाँ रहेका विद्यार्थीहरुलाई आवासीय सुविधा सहित परियत्ती शिक्षा दिइरहेका छन् । विहारको कोष वृद्धिका लागि यहाँ रहेका भिक्षु भिक्षुणीहरु प्रत्येक शनिबार भिक्षा पात्रो लिएर भिक्षाटानका लागि जाने गर्दछन् । कतिपय दाताले यहाँ रहेका विद्यार्थीमध्ये एक जनाको अध्ययन खर्चको जिम्मा लिने गर्छन् ।

विहारमा भिक्षुहरुको शीलको परिक्षणका लागि सीमा गृह पनि बनाइएको छ । यहाँ अध्ययन गरिरहेका भिक्षुहरुलाई यसै सीमा गृहमा ल्याएर उनीहरुले प्राप्त गरेका ज्ञान र शीलको परिक्षण गर्ने गरिएको छ ।

विहार अझै पनि निर्माणकै क्रममा रहेको छ । विहारमा एउटा अत्याधुनिक धर्म हल निर्माण गर्ने लक्ष्य समेत राखिएको छ । भिक्षु निवास र धार्मिक गतिविधि समेत सञ्चालन हुने गरी उक्त धर्म हल निर्माण गरिनेछ । धर्म हल निर्माणका लागि विहारसँग दरिलो आर्थिक श्रोत छैन । त्यसैले अहिले धर्म हल बनाउने योजना योजनामै सिमित भएको छ । दाताहरुबाट आवश्यक रकम जुटेपछि मात्रै धर्म हल निर्माणले सार्थकता पाउने भिक्षु ज्ञानेन्द्र जानकारी दिए ।

विहारमा वर्षावासको समय पनि निकै धेरै अनुयायी जम्मा हुने गर्छन् । वर्षावासको समय भिक्षु भिक्षुणी बाहेक उपासक उपासिकाहरु यहाँ आएर असार पूर्णिमादेखि असोज पूर्णिमासम्म बुद्ध पूजा गर्ने, उपदेश सुन्ने र दानदक्षिणा गर्ने गर्छन् । वर्षावासको अन्तिम समयमा यस विहारमा १० दिने दुर्लभ प्रवज्या शिविर समेत सञ्चालन हुने गरेको । शिविरमा हरेक वर्ष एक सयदेखि डेढ सयसम्म उपासक उपासिका सहभागि हुने गर्छन् ।

Share

Related posts