बौद्ध धर्ममा जातक कथा

जातक कथाको अर्थ हो जन्मको कथा हो । यी कथाहरू गौतम बुद्धको समयभन्दा केही पहिलेदेखि प्रचलित भएको मानिन्छ । जातक कथाहरूको मूल उद्देश्य जनसाधारणले बुझ्ने गरी पशुपंछी र मानिसहरूको कथामार्फत नैतिक शिक्षा, खास गरी बुद्ध धर्मका सन्देशहरूको प्रचार गर्नु हो ।

यी कथाहरू मूल रूपमा गौतम बुद्धले आफ्नो पूर्वजन्मको बारेमा भनेका कथाहरू मानिन्छन् । उनी पूर्वजन्ममा चरा, जानवर, मानिस आदि विभिन्न रूपमा जन्मेर भोगेका शिक्षाप्रद कथाहरू यसभित्र पर्छन् । केही कथामा उनका आफन्त र प्रिय शिष्यहरू पनि पूर्वजन्मका कथाका पात्रको रूपमा देखिएका छन् । बुद्धले पूर्वजन्ममा जुन पात्रको भूमिका खेले पनि त्यो पात्रको चरित्रले बुद्धका सिद्धान्तअनुरूप आचरण गरेको देखिन्छ ।

जातक कथाहरू आफैमा स्वतन्त्र वा बेग्लाबेग्लै कथा नभएर कुनै घटना वा कथासँग जोडिएर आएका कथा हुन् । जातक कथाभित्र जम्मा ५४७ कथाहरू छन् ।

Share

Related posts