बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजित अन्तराष्ट्रिय सम्मेलन सम्पन्न

तीन बुँदे लुम्बिनी घोषणापत्र जारी गर्दै बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलन आज सम्पन्न भएको छ ।

दक्षिण एशियामा जातीय र धार्मिक द्वन्द्व न्यूनीकरण गरी शान्ति स्थापनाका लागि प्रयास गर्ने, लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति केन्द्र स्थापनाका लागि सबै देशले सहकार्य गर्ने तथा प्रत्येक वर्ष लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति सम्मेलन गर्ने निर्णय गरी सम्मेलन सम्पन्न भएको हो । सम्मेलनका निर्णय आज लुम्बिनीको मायादेवी मन्दिर परिसरमा दीप प्रज्वलन गरी सार्वजनिक गरिएको सो सम्मेलनका सहसंयोजक सुजिता भट्टराईले जानकारी दिनुभयो ।

लुम्बिनी विकास कोष, नेपाल सरकार र विनचेस्टर विश्वविद्यालय बेलायतद्वारा संयुक्त रुपमा आयोजना गरिएको ‘दक्षिण एशियामा शान्ति र मेलमिलापका लागि धर्म र संस्कृतिको भूमिका’ विषयक सम्मेलनमा १५ मुलुकका १२ विज्ञले कार्यपत्र प्रस्तुत गरेका थिए । सम्मेलनमा विभिन्न मुलुकले द्वन्द्वको अन्त्यका लागि गरेका प्रयास, धार्मिक तथा साम्प्रदायिक युद्धको समाधानका उपायलगायत विषयमा छलफल गरिएको सम्मेलनका निर्देशक मुक्ति सुवेदीले जानकारी दिनुभयो । सम्मेलनमा ‘शान्ति स्थापनामा बुद्धिजमको महत्व’ विषयमा केन्ट विश्वविद्यालयका प्रोफेसर ह्युग मियल, ‘श्रीलङ्कामा युद्धपछिको धार्मिक कट्टरता’ विषयमा बेलायतका चास मोरिसन, ‘नेपालको धर्मनिरपेक्षता र दिगो धार्मिक सहिष्णुता’ विषयमा डा योगी सिंहनाथ, इण्डोनेशियाका अनिसा मार्टियाना, बेलायतका प्रोफेसर मार्क वइन, भारतका प्रोफेसर प्रियङ्का चक्रवर्ती, नेदरल्याण्डका जोना थानवेरीलगायतले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल, भारत, बङ्गलादेश, श्रीलङ्का, बेलायत, क्यानडा, नेदरल्याण्ड, इन्डोनेसियालगायत देशका विज्ञ सहभागी थिए । समापनमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेय शाक्य पुत्तले बुद्धका उपदेशमा सबै खालका द्वन्द्व समाधानका उपाय भेटिने बताउनुभयो ।

Share

Related posts